अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत


चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ ।
चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ ।
नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताउनुभयो ।























