अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

जगत ठाडा मगर
२०७८ भदौ १९ | बिहान ११:०५ बजे

अर्घाखाँची । शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भने ८ जना घाइते भएका छन् ।
काठमाडौँबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो । उक्त दुर्घटनामा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो।
थापाका अनुसार हाइस सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ ।
अन्यको अवस्था सामान्य रहेको छ ।घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको थापाले बताउनुभयो ।






















