विभागले दिन थाल्यो एक बर्ष अवधिको अस्थायी ड्राइभिङ लाइसेन्स


काठमाडौ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राहीहरु वर्षदिन कुुर्नपर्ने बाध्यताको विकल्पका रुपमा विभागले अस्थायी रुपमा एक बर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने व्यवस्था गरेको जानकारी दिए। उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइरहेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने जानकारी दिए ।
अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौंदेखि लाइनमा छन् । विभागका प्रवक्ता डा. भुसालले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ–सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए।
विभागका प्रवक्ता डा. भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौ २० गतेबाट सञ्चालन हुने जानकारी दिए।
उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरी सकेको बताए।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि छ लाख जनाले आवेदन दिएका छन्। विभागले लाइसेन्सको लागि आवेदन अनलाइनबाटै लिने गरेको छ।






















