माधव नेपालको दल दर्ताविरुद्धको मुद्दा न्यायाधीस मिरा खड्काको बेञ्चमा


काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले न्यायाधीस मिरा खड्काको एकल इजलासमा सुनुवाइ तोकेको छ। दल दर्ताविरुद्ध नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वारेशनामामार्फत् छुट्टाछुट्टै तीन रिट दर्ता गराएका थिए।
रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ।
त्यस्तै सभामुख सापकोटाले कारबाही सिफारिस भएका सांसदको कारबाही रोकेको उल्लेख गरिएको छ। रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ। ओलीको वारेशनामाका आधारमा सुमित्रा पाण्डेले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।






















