पाल्पामा काँग्रेसको अधिवेशन स्थगित, शनिबार बैठक बसेर नयाँ मिति तोकिने

जगत ठाडा मगर
२०७८ भदौ १८ | मध्यान्ह १२:०५ बजे

पाल्पा । पाल्पामा आज हुने भनिएको नेपाली काँग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ ।
निर्वाचन अधिकृत आउन ढिलाइ भएको र क्रियाशील सदस्यता छुटेका केही स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जनाएपछि स्थगित गरिएको हो ।
नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति वीरबहादुर रानाले निर्वाचन अधिकृतको कार्यव्यतस्तता र केही वडाका क्रियाशील सदस्यको नाम छुटेका कारण अधिवेशन रोकिएको बताउनुभयो ।
रानाका अनुसार शनिवार पार्टीको बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने छ । पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ ।
जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी जम्मा ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेको पार्टीले जनाएको छ ।






















