नवजागृति पुस्तकालयद्वारा ६ वटा साहित्यिक पुरस्कारको स्थापना


बुटवल । १७ भदौ, बुटवलमा रहेको नवजागृति पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छ वटा साहित्यिक पुरस्कारको स्थापना गरेको छ ।
हरेक वर्ष सम्बन्धित कविको जन्मजयन्तीका अवसरमा प्रदान गरिने ती पुरस्कारमध्ये यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार गत असार २९ गते वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरेको थियो भने युवाकवि मोतीराम भट्ट पुरस्कार यही भाद्र २२ गते युवाकवि मोतीजयन्तीका अवसरमा एक कार्यक्रमका बीच कवि पुरुषोत्तम पाण्डेयलाई प्रदान गर्ने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष श्री महेश्वर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कुरा सो संस्थाका बरिस्ठ सल्लाहकार तथा साहित्य समितिका संयोजक प्रा.डा.हिरण्यलाल ज्ञवालीले जानकारी दिनुभयो । सो समितिमा कृष्णप्रसाद कोइराला सहसंयोजक रहेका छन् भने त्रिविक्रम श्रेष्ठ, अम्बिका पौडेल र चक्रपाणि डुम्रे सदस्य रहनु भएको छ । संस्थाका अध्यक्ष श्री महेश्वरप्रसाद श्रेष्ठ साहित्य समितिका संरक्षक रहनु भएको छ ।






















