देश

माओवादी दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच ‘वान टु वान’ वार्ता

जगत ठाडा मगर
२०७८ भदौ १७ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच ‘वान टु वान’ वार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

हुम्लामा चीनसँगको सीमा विवाद र एमसीसीबारे चर्चा भइरहेका बेला दुई अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ । सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएकोबारे अध्ययनका गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् समेत सम्मिलित हुनेछन् । सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको यो निर्णयले नेपाल–चीन सम्बन्धलाई असर गर्ने प्रतिक्रिया दिइरहेका छन् ।

साथै सरकार र एमसीसीबीचको सम्झौतालाई कसरी अघि बढाउने भन्नेबारे समेत छलफल भइरहेका बेला विगतमा एमसीसीको विरोधमा रहेका दुवै नेता अहिले सरकारमा समेत भएका बेला कस्तो धारणा बनाउछन् भन्ने चासोको विषय बनेको छ । एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दा पनि अघि बढ्न सकेको छैन ।

यहीबेला बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी काठमाडौं आउँदैछन् । आगामी साता एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा छलफल गर्न नेपाल आउँदैछन् ।

कमेन्टहरु