देश

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ भदौ १७ | बिहान १०:०५ बजे

दाङ । दाङमा खोलाले बगाउँदा ४ जनाको ज्यान गएको छ । घोराही-लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलामा गएराति आएको बाढीले कार बगाउँदा चारै जनाको ज्यान गएको छ ।

यसअघि दुई जनाको शव भेटिएको थियो भने दुई जना बेपत्ता भएको थियो । उक्त बेपत्ता भएका दुई जनाको पनि केहीबेर अघि शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।भारतसँगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका- १६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो । यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि ज्यान गएको छ ।

कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।पुनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु