सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता देउवा सरकारले कार्यान्वयनमा ल्याउने भएको छ ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउने निर्णय गरेकाले त्यसलाई सरकार परिवर्तन भए पनि मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको हो । सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा केही संशोधनका लागि प्रतिस्थापन विधेयकको तयारी गरेका छन् ।
त्यसमा सामाजिक सुरक्षा भत्ताको विषय भने यथावत् रहने निश्चित भएको छ । बजेटले वृद्धि गरेको भत्ता साउनदेखि नै लागू हुनेछ । प्रत्येक चार महीनामा भत्ता वितरण गरिने भएकाले अब कात्तिकमा लाभग्राहीले बढेको भत्ता एकमुष्ट पाउनेछन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले स्वीस सरकारद्वारा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना, दोस्रो चरणको कार्ययोजनाका लागि प्राप्त हुने १४ दशमलव ७ मिलियन (करीब १ अर्ब ९३ करोड) सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यो समाचार आर्थिक समाचार दैनिकमा छ ।






















