देश

राउटेलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार भत्ता थपिदिने

जगत ठाडा मगर
२०७७ कार्तिक ९ | मध्यान्ह ०४:०७ बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे जातिको संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भएको छ ।

दसैँको अवसरमा शनिबार चिंगाड गाउँपालिका–४, राउटे बस्तीमा पुगेका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको गहनाका रुपमा रहेको राउटेको संरक्षणका लागि प्रदेश सरकारले छुट्टै प्रतिष्ठान बनाउने बताए

नेपालको एक मात्र फिरन्ते जाति राउटेलाई दसैँको अवसरमा खाद्यान्न वितरण गर्दै मुख्यमन्त्री शाहीले राउटे बस्तीको अवलोकन र समस्याबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री शाहीले राउटेको जंगली दुःख देखेर खान बस्न सरकारले दिने, स्थायी घर हालेर बसाउने भन्दै जंगलमा दुःख नगर्न आग्रह गरे । तर राउटे मुखिया सूर्यनारायण शाहीले जवाफमा भने, ‘जंगलमा तपाईहरुलाई दुःख हुन्छ होला तर राउटेले दुःख मान्दैन ।’

राउटेहरुलाई प्रदेश सरकारका तर्फबाट थप दुई हजार रुपैयाँ मासिक भत्ता समेत उपलव्ध गराउने मुख्यमन्त्री शाहीले घोषणा गरे । यसअघि संघ सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत मासिक प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता दिँदै आएको छ । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

प्रदेश सरकारले राउटेको स्वास्थ्य, सरसफाइ, शिक्षा तथा खानपिनमा पनि ध्यान दिने जनाएको छ । मुख्यमन्त्री शाहीले राउटेका समस्यालाई प्रदेश सरकाले स्थानीय सरकारसँगको सहकार्यमा समाधान गर्ने बताए ।

कमेन्टहरु