ट्राफिक प्रहरीले शुरु गर्यो ‘नाइट भिजन लेजर स्पीड गन’ अभियान


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातिको समयमा तीव्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ को प्रयोग गरेर गति नियन्त्रण अभियान शुरु गरेको छ ।
बिशेषगरि कोटेश्वर-सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तीव्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तीब्रगति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ । दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तीव्रगतिमा सवारी चलाउने ३५/४० जना चालकहरुलाई महाशाखाले लेजर गन मार्फत कारबाही गर्दै आएका छ।
गएराती ट्राफिक प्रहरीले सातदोबाटो, सानेपा, कलंकी र गठ्ठाघरमा नाइट भिजन लेजर स्पिड गनको प्रयोग गरेर स्पिड जाँच गरेको थियो । ट्राफिक प्रहरीले साँझ ८ बजेपछि गति नियन्त्रण अभियान चलाउन थालेको छ । धेरै स्पिड चलाउनेलाई पहिलोपटक ५ सय जरिवाना गरिएको एसपी सन्जिव शर्माले बताए ।
तीव्र गतिमा सवारी साधन चलाउँदा आफूलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तीव्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।






















