देश

सभामुख सापकोटाविरुद्धको १० वर्ष पुरानो मुुद्दा हेर्न नमिल्नेमा

जगत ठाडा मगर
२०७८ भदौ १६ | मध्यान्ह ०६:०५ बजे

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन। संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो।

सर्वोच्च अदालतका एक अधिकारीका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गरेका थिए । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको ती अधिकारीले जानकारी दिए । यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो ।

यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।

कमेन्टहरु