अबको एक दशक देश विकासका लागि युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।
बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्ने बताए ।
उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे ।
शर्माले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए । अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए।
अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरु निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्ने उनले बताए।
अर्थमन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीतिले लय छोड्न थालेको, प्रतिगमनको बाटो लिएपछि त्यसविरुद्ध अहिले जनता जुर्मुराएर राजनीतिलाई लयमा ल्याएको बताए ।






















