अविरल वर्षासँगै पाल्पामा पहिरो, तीन घरमा क्षति

जगत ठाडा मगर
२०७८ भदौ १५ | बिहान ०८:०५ बजे

पाल्पा । अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका विभिन्न स्थानमा तीन वटा घर र एउटा गोठ क्षति भएको छ ।
तानसेन नगरपालिका–८ डुम्रेका देवबहादुर सारुको दुई तले कच्ची घर पहिरोले पूर्णरुपमा क्षति गरेको छ भने सोही स्थानका खड्कबहादुर खत्रीको दुई तले घरको भुइँतलाको गारो भत्किएको छ । उनको गोठ पनि भत्किएर १४ वटा कुखुराहरु मरेका छन् ।
त्यस्तै रिब्दकोट गाउँपालिका–४, हटियाका सञ्जित कुमार राजभण्डारीको पनि दुई तले कच्ची घर भत्किएको छ । तर कुनै मानवीय क्षति नभएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिएका छन् ।






















