१४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने गगन थापाको घोषणा


काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिका–३० ले सोमबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।थापा सोही वडाका स्थायी बासिन्दा हुन् ।
उनले भनेका छन् `आज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं । यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन´।
थापाले आफ्नो वडा र त्यहाँका अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्य रहेका थापाले १३ औं महाधिवेशनमा पनि उम्मेदवारी दिएर पराजित भएका थिए ।
उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।






















