कोसी नदीमा वर्षकै उच्च बहाव, व्यारेजका ३७ ढोका खोलियो, स्थानीय त्रसित


काठमाडौ । विश्वमा चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने दोस्रो ठूलो नदी सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।
केही दिन यताको निरन्तर वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ ।
सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका छन् । कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ ।
कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको जानकारी दिए ।
अझै भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकबाट ।






















