सांसद यादवले आफुले पाउने सेवा सुविधाबाट वीरगञ्ज र कलैया जोड्ने सडक मर्मत गराए


बीरगंज, ११ भदौ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादवले कलैया र वीरगञ्ज जोड्ने बिग्रिएको बाटो मर्मत गराएका छन् ।
हुलाकी राजमार्गसमेत रहेको सडक खण्डको प्रतिमा चोकमा खाल्डो भएर वर्षातमा पानी जम्दा आवतजावत गर्ने यात्रु तथा सवारी साधनले सास्ती खेप्नुपरेको थियो । सोही अवस्थालाई मध्यनजर गर्दै सांसद यादवले आफुले पाउने सेवा सुविधाबाट उक्त सडकको खाल्डो पुर्नुका साथै लगभग २५ मिटर भत्किएको सडक मर्मत गराएका हुन् ।
यात्रुहरुको सास्ती र सम्बन्धित निकायको मौनताका कारण आफुले पाउने सेवा सुविधाबाटै भएपनि सडक मर्मत गरेको सांसद यादवले बताए ।
वीरगञ्ज बजार प्रवेश गर्ने र कलैया जाने मुख्य चोककै बाटोमा खाल्डो भएर पानी जमेपछि समस्या भएको थियो । उक्त समस्याको समाधान भएपछि यात्रु तथा सवारी चालकहरु खुशी भएका छन् ।
कतिपय जनप्रतिनीधिहरुले विकास निर्माणकै लागि आएको रकम पनि खाएको भन्ने आरोप लागिरहेकै बेलामा सांसद यादवले व्यक्तिगत सेवा सुविधाबाट सडक मर्मत गरेर उदाहरणीय काम गरेको विश्लेषण पनि हुन थालेको छ ।






















