देश

देशकै ठूलो ढल्केबर सबस्टेशन निर्माण सम्पन्न: १२०० मेगावाट विधुत आयातनिर्यात गर्न सकिने

जगत ठाडा मगर
२०७७ कार्तिक ७ | बिहान ०९:०७ बजे

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो ।

ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ ।

नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताउनुभएको छ ।

प्राधिकरणका अनुसार सो सबस्टेशनको क्षमता ९४५ एमभीए रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बोलपत्र प्रक्रिया शुरु गरी करिब अढाइ वर्षमा सो आयोजना सम्पन्न भएको हो । प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो । कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा समेत आयोजनाको काम भइरहेका कारण सम्पन्न हुन सकेको हो ।

तत्कालका लागि नो लोडमा सबस्टेशन चार्ज गरिएको भए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ । परामर्शदाता कम्पनीको रुपमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले केही दिन पहिले रासससँगको कुराकानीका क्रममा सो आयोजना आफूहरुका लागि समेत महत्वपूर्ण र सिकाइका दृष्टिले पनि बहुआयामिक भएको बताउनुभएको थियो ।

कमेन्टहरु