बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु, एक जना बेपत्ता


बुटवल । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप प्यासी रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताउनुभयो। घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए। उनीहरूको शव केही तल खेतमा फेला परेको थियो।
त्यसैगरी बेपत्ता हुनेमा सुनवल नगरपालिका–१४ की एलिसा तामाङ रहेकी छिन् । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान रहेको छ । रातिदेखिको निरन्तर वर्षाले नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ ।
डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।






















