पश्चिम नवलपरासीबाट १० किलाे चरस सहित एक भारतीय नागरिक पक्राउ


सुरेश यादव
नवलपरासी । पश्चिम नवलपरासीकाे दक्षिणी सीमावर्ती क्षेत्रबाट नेपाल प्रहरीले १० किलो चरस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भारत उत्तर प्रदेश महाराजगंज जिल्ला भगतपुरवा घर बताउने ३७ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो । पंचपेडा प्रहरी चौकीको डियुटी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ४ बर्दघाटे पुलस्थित पैदल हिडिरहेका एक व्यक्तिकाे चेकजाँचको क्रममा साे अवैध लागु औषध चरेस सहित बिहिवार बिहान ५ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता राजु लामाले कालो झोलामा चरेसलाई पेपरमा बेरी टेपले बाधेर इटा जस्तो देखिने २६ वटा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयाे । पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर जिल्ला अदालत पश्चिम नवलपरासीबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता लामाले बताउनुभयाे ।






















