गण्डकी प्रदेशमा अर्बपति मन्त्री (विवरण सहित)


पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन्। तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो। सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन्। थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।
कुन मन्त्रीको सम्पत्ति कति ?
सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन्। उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ। नवलपुर गैंडाकोटमा ०.३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन्।
पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन्।
सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन्। उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन्। उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन्। पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो।
शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ। नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ।
यस्तो छ अर्ब पति मन्त्रीको सम्पति
– पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा
– पोखरामा घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायतमा करोडांै लगानी
– पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वमीमा घर छ ।
– नयाँ बजारमै ४ हजार ९ सय ९४ वमीमा अर्को घर छ
– यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटलमा मुख्य लगानी
– पर्यटकीय स्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्टको स्वामित्व
– ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ ।
– विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद
– आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर
– ५ बैंकमा ३१ करोड ३ लाख ७० हजार ऋण तिर्न बाँकी
– दुई गाडी
यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ। उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनी दाबी गरेका छन्। पर्यटकीयस्थल लेकसाइडस्थित बगैंचा रिसोर्ट, गण्डकी ट्रेड मल, सिटी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनको सम्पत्ति हो।
उनले २ गाडी, ५ बैंक तथा वित्तीय संस्थामा ऋण रहेको उल्लेख गरेका छन् भने उनको घरमा नगद ५५ हजार रुपैयाँ, ९० तोला सुन, ५० तोला चाँदी, १५ तोला हिरा छ। विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद छ भने आफूसहित सगोलको परिवारमा गरी ७ लाख ५० हजार कित्ता सेयर छ। उनले सम्पत्ति विवरणमा ५ बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन्।
यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने १ किलो बढी सुन रहेको बताउँछन्। उनको १ किलो १९ तोला सुन छ। गृहजिल्ला स्याङ्जा भिरकोटसहित काठमाडौं नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको देखाएका छन्। साथै १५ लाख नगद, ७ किलो २ तोला चाँदी र एक थान हिराको औंठी रहेको उल्लेख गरेका छन्।
माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका रामजीप्रसाद बरालले छोराबुहारीको नाममा मोटरसाइकल र स्कुटर, आफ्नो नाममा ६० कित्ताको निफ्राको सेयर, एभरेस्ट बैंकमा ३ लाख नगद उल्लेख गरेका छन्। उनले गत वर्ष एनआईसी एसिया बैंकबाट १ करोड ऋण लिएको जनाएका छन्। श्रीमतीसहित आफ्नो नाममा जग्गा छ भने चार तोला सुन विवरण देखाएका छन्।
वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवामा ५० हजार रुपैयाँबराबरको घर किनेको बताएका छन्। उनले पोखरा १४ मा ४० लाखको जग्गा किनेका छन्। उनीसँग सुन र चाँदी क्रमशः ३० र २० तोला छ। उनले ऋण काढेर चर्ती नर्सरी उद्योग सञ्चालन गरेका छन्।
सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले ९५ तोला सुन, विभिन्न संस्थामा १ करोड बढी नगद, ५६ लाखको सेयर देखाएका छन्। उनको पोखरा १६ मा ३ सय ८२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर छ भने बैंक तथा वित्तीय संस्थामा ८५ लाख ऋण रहेको उल्लेख गरेका छन्।
यसैगरी, पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलको सम्पत्ति बागलुङमा छ। त्यहाँको काठेखोलामा ६ स्थानमा उनको जग्गा रहेको छ। साथै उनको नाममा चितवनमा ५, रुपन्देहीमा ९ र श्रीमती इन्द्रकलीको नाममा चितवनमा ३ स्थानमा जग्गा छ। उनले बागलुङ बजारमा झन्डै ५० लाखमा घर किनेका छन्। उनको २५ तोला सुन र १ किलो चाँदी छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले लमजुङ दुधपोखरीमा घर उल्लेख गरेकी छन्। उनको लमजुङ, चितवन र मकवानपुरमा गरी ४ स्थानमा जग्गा छ। साथै उनको नाममा साढे ८ लाख नगद मौज्दात र ३ तोला सुन छ।
ऊर्जामन्त्री हरिशरण आचार्यको स्थायी घर गोरखाको पालुङटारमा आफ्ना बाबु र श्रीमतीको नाममा घरजग्गा रहेको भनेका छन्। उनले बैंक तथा वित्तीय संस्थाबाट ५० लाख ऋण लिएको बताएका छन्। साथै ८ तोला सुन र ५ तोला चाँदी रहेको छ।
मन्त्रिपरिषद् विस्तारको दुई महिनापछि मात्र सार्वजनिक सम्पत्तिमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने अझै सम्पत्ति विवरण बुझाएका छैनन्। राजधानी दैनिकमा खबर छ।






















