त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको ताला लगाए


काठमाडौ । त्रिभुवन विश्वविद्यालयमा समाजवादी प्राध्यापक संघले ताला लगाएको छ । त्रिविका विभिन्न पदमा समावेशी समानुपातिक नियुक्ति गर्नुपर्ने लगाएतका १० बुँदे माग राखेर संघले उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकक्षमा बुधबार ताला लगाएको हो ।
समाजवादी प्राध्यापक संघका अध्यक्ष पवनकुमार झाले संवादबाट समस्या हल गर्न त्रिविका पदाधिकारीसँग लिखित माग गरे पनि गम्भीर नभएपछि तालाबन्दी गरेको बताए । समाजवादी प्राध्यापकले सम्पूर्ण पदमा समावेशी र समानुपातिक हुनुपर्नेका साथै कोभिड–१९ का कारण मानवीय क्षतिसमेत भएको र कार्यरत सम्पूर्ण प्राध्यापक, कर्मचारी र उनका परिवारलाई खोपको व्यवस्था गर्न माग गरेको छ ।
कोभिडको कारण सञ्चालन भइरहेको अनलाइन कक्षालाई व्यवस्थित बनाउन सम्पूर्ण प्राध्यापकलाई एक–एकवटा ल्यापटप उपलब्ध गराउनुपर्ने र इन्टरनेट जडान गर्नुपर्ने वा मासिक वा वार्षिक शुल्कको व्यवस्था मिलाउनुपर्ने, त्रिविका प्राध्यापक, कर्मचारीका परिवारका सदस्यलाई समेत शिक्षण अस्पतालमा छुटको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।
त्यसैगरी, त्रिविमा कार्यरत प्राध्यापकका छोराछोरीलाई हरेक संकायमा कोटा हुनुपर्ने, त्रिविमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीको निवृत्तिभरणको व्यवस्था गर्नुपर्ने, कार्यकारी परिषद्बाट पारित भएको एक शैक्षिक सत्रमा एक साता फोर्स लिभको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका छन् ।
पछिल्लो केही समययता पेसागत सेवासुविधामा केन्द्रित माग राख्दै त्रिभुवन विश्वविद्यालयमा ताला लगाउनेमा विद्यार्थीभन्दा प्राध्यापक अघि देखिएका छन् । त्रिविमा आंशिक प्राध्यापकले ताला लगाएको केही दिनमै समाजवादी प्राध्यापक संघले बुधबार ताला लगाएका हुन् ।
त्रिवि आंशिक प्राध्यापक संघले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रार, त्रिवि सेवा आयोगमा ८ साउनमा लगाएको ताला १७ साउनमा खोलेको थियो । उपप्राध्यापकको विज्ञापन रोक्ने र नयाँ थप दरबन्दीका लागि सरकारसँग पहल गर्ने सहमति भएपछि आंशिक प्राध्यापकले ताला खोलेका थिए ।






















