देश

पार्टी विभाजनपछि प्रदेश १ मा पहिलो पटक एमाले बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

जगत ठाडा मगर
२०७८ भदौ १० | बिहान ०८:०५ बजे

विराटनगर । नेकपा एमालेको प्रदेश १ संसदीय दलले आज बैठक बोलाएको छ । पार्टी विभाजनपछि आज पहिलो पटक बैठक बोलाइएको हो ।

आज (बिहीबार) बिहान ९ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईलाई राजीनामा गराउने तयारी रहेको स्रोतको भनाइ छ ।राईको राजीनामापछि माधवकुमार नेपालको साथ छोडेका एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

एमालेका एक सांसदका अनुसार आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथ ग्रहण गराउने सम्भावना रहेको र पार्टी विभाजनपछि केन्द्र र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समयावधि दिइएको छ । तर हतारमा संसदीय दलको बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राईले संसदीय दलको बैठक बोलाउनु राजनीतक र नैतिक रुपले अन्योचित भएको बताए । आफ्नो पक्षमा सांसद बढाउने उद्देश्यले दलको बैठक बोलाएको बताउँदै राईले भने, ‘मलाई निम्तो आएको छैन, तर दलको नयाँ नेता छनोट गर्ने भन्ने सुन्दैछु ।’

बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्न सक्ने सम्भावना पनि रहेको एमाले स्रोतले बताएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भने अहिलेको समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । बिहान ९ बजे बस्ने बैठकले संसदीय दलको नयाँ नेता छनोट गर्न सक्ने बताए ।

एमालेसँग बहुमत रहेको बताउँदै कार्कीले ठूलो दलको हैसियतमा सरकारमा रहने बताए । ‘संसदीय दलको बैठकमा भीम आचार्य पनि आउनुहुन्छ,’ उनले भने,’ सबै विषयमा छलफल हुन्छन्, दलको नेता परिवर्तन पनि हुनसक्छ ।’

एमाले संसदीय दलका एक सदस्यका अनुसार बिहीबार नै मुख्यमन्त्रीमा आचार्यलाई शपथ ग्रहण गाराउने सम्भावना छ । ‘मुख्यमन्त्रीले दलको नेताबाट राजीनामा दिने र भीम आचार्य संसदीय दलको नेता चयन गर्ने तयारी छ,’ ती नेताले भने,’ बिहीबार नै शपथग्रहण हुनसक्छ ।’

बैठकमा माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । प्रदेश सांसद उपेन्द्र घिमिरेले आफूलाई बैठकको निम्तो आए पनि नजाने बताए ।मुख्यमन्त्रीमा भीम अचार्य चयन भए पनि विश्वासको मत नपाउने उनले बताए । ‘एक महिनाका लागि किन मरिहत्ते गरेको होला,’ उनले भने,’ भोलि विश्वासको मत जुट्दैन् ।’

एमाले सचिव आचार्य अहिले काठमाडौँमा छन् । उनी बिहीबार बिहान विराटनगर आउने स्वकीय सचिव अनिल राजधामीले बताए ।

यस्तो छ अंक गणित

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।

सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा सांसद् खातुनलाई उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिमाना सजायको फैसला सुनाएको थियो । २०७६ साल पुस ९ गतेको फैसलापछि उनी फरार छिन् । एमाले ओली पक्षकी सांसद खातुन संसदीय दलको बैठकमा हस्ताक्षर गर्नका लागि आउने स्रोतको दाबी छ ।

एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद् रहने केन्द्रीय सदस्य राजेन्द्र राई बताउँछन् । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमाले सरकार ढालेर गठबन्धनको सरकार बनाउन ८-९ जनाको संख्या थप भए पुग्छ ।

भीम आचार्य एमालेमा रहँदा उनीसँग २-३ जना सांसद जान सक्ने माधव पक्षको आकलन छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद रहेका छन् ।

कमेन्टहरु