प्रथम मुख्यसचिवको सालिक अनावरण


काठमाडौँ । गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षक समेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको २० वर्षपछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो । सहिद स्मारकका अधिकांश काम सुरु भए पनि सकिएको छैन । धेरै संरचना निर्माण सुरु भएर अलपत्र बनेका छन् । निजामती पार्क क्षेत्रमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गर्दै मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रजातन्त्र सेनानी नारायणबहादुर श्रेष्ठ, प्रथम मुख्यसचिव थापाका नाति विजय थापा, पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले सहिद तथा शान्ति स्माक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिए ।























