देश

नेकपा एमालेको दशौं महाधिवेशन मंसिरको दोस्रो सातामा

जगत ठाडा मगर
२०७८ भदौ ८ | मध्यान्ह ०७:०५ बजे

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको दोस्रो साता दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

माधवकुमार नेपालको पक्षमा रहेका, तर नयाँ पार्टीमा सामेल नभएका १० जना स्थायी कमिटी सदस्यहरुसमेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको हो।

साथै महाधिवेशन र विधान सम्मेलनको मितिसमेत तय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ । त्यसभन्दा पहिले असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिए । साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ ।

२ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

कमेन्टहरु