देश

चितवनको माडीमा सामूहिक चक्लाबन्दी खेतीः मन्त्री आफैले रोपेको धान आफै काटे

जगत ठाडा मगर
२०७७ कार्तिक ६ | बिहान ०९:०७ बजे

चितवनको माडी नगरपालिका स्थित कान्तिपुरमा सामूहिक चक्लाबन्दी खेतीमा लगाइएको धान कम्बाइन हार्वेस्टरबाट काट्न सुरु गरिएको छ । आज बुधवार बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले यन्त्रीकरणको प्रयोग मार्फत आफैले रोपेको धान आफै काट्नुभएको हो । १७ औं राष्ट्रिय धान दिवसका दिन असार १५ गते उहाँले यन्त्रीकरणको प्रयोग मार्फत धान रोप्नुभएको थियो ।

चक्लाबन्दी खेतीमा आफैले रोपेको धान आफै काट्न पाउँदा मन्त्री लामा उत्साहित देखिनुहुन्थ्यो । सो अवसरमा बोल्दै उहाँले माडीका सिमान्तकृत समुदायको जीवनस्तर उकास्न सामूहिक खेतीको अबधारणा अघि सारिएको बताउनुभयो । कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको उहाँको भनाई छ ।

मन्त्री लामाले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बनाउनु छ, त्यसका लागि सबैले अग्रसर भएर काम गर्नुहोस ।’ उहाँले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने धारणा राख्नुभयो ।

कमेन्टहरु