देश

रौतहटमा पत्रकार फसाउनमा एसपीकै हात, अडियो सार्वजनिक

जगत ठाडा मगर
२०७८ भदौ ८ | मध्यान्ह ०५:०५ बजे

रौतहट । रौतहट जिल्लामा गएको साउन ३२ गते लागूऔषध ओसार पसार कारोवारमा संलग्न भएको आरोपमा पक्राउ परेका संचारकर्मी मोहमद मोजिबुल्लाहको घटनामा प्रहरी नै मुख्य योजनाकार भएको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले पत्रकार सम्मेलन गरि फसाउने कार्यको मुख्य नाइके नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव संजय कुमार सहनी भएको तथ्य बाहिर ल्याएपछि आरोप लगाईएका सहनी अडियो रेकर्ड सार्वजनिक गरेपछि मुख्य दोषी प्रहरी उपरीक्षक शाह देखिएको छ । सिसि टिभी फुटेजबाट निर्दोष देखिएका संचारकर्मी मोजिबुल्लाहलाई रिहा गरेलगतै प्रहरी उपरीक्षक शाह र आरोपित बनाईएका पत्रकार सहनी विच भएको कुराकानीको अडियो रेकर्ड सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरी उपरीक्षक शाह नै घटनाको योजनाकार भएको पुष्टि भएको हो ।

दुवै जना विच भएको संवादमा प्रहरी उपरिक्षक शाहले तपाईको काम भयो भयो भनेका छन् भने पत्रकार सहनीले जानकारी कसरी भयो भने सोधेको सुनिन्छन् । कुराकानीको क्रममा प्रहरी उपरीक्षक शाह हाँसेको अडियोमा सुनिन्छ । नेपाल पत्रकार महासंघले घटनामा प्रहरीका उच्च अधिकारीहरुको संलग्नता भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरि छानविन हुनु पर्ने माग गरेकोछ ।

गत वर्ष गरुडामा प्रहरी हिरासतमा अनुसन्धानको क्रममा दिइएको चरम यातनाको कारण विजय रामको भाईको मृत्यु पछि विभागमा तानिएका तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्काको ठाउँमा प्रहरी उपरीक्षक शाह रौतहट आएका थिए ।

प्रहरी उपरीक्षक शाहले सार्वजनिक भएको अडियोमा भएको आवाज आफनो रहेको स्वीकार गर्दै पत्रकार संजय सहनीले नै दिएको सुचनाको आधारमा पक्राउ गरेपछि भएको कुराकानी रहेको दावी गरेका छन् । कुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उनले आफु बाँच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए । अडियो सार्वजनिक भएपछि प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी उपरीक्षक शाहसित भएको संवादलाई गलत तरिकाबाट प्रस्तुत गरिएको जनाएका छन् ।

कमेन्टहरु