देश

लागुऔषध नियन्त्रणमा सशस्त्र प्रहरी सक्रिय, ओसारपसारमा संलग्‍न १५५ जना पक्राउ

जगत ठाडा मगर
२०७८ भदौ ८ | बिहान ०७:०५ बजे

विराटनगर । प्रदेश १ मा पछिल्लो समय लागुऔषधको ओसारपसार एवं कारोबार बढेसँगै नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ । सशस्त्रले बरामद गरेको लागुऔषधको परिणामले यसको किनबेच र ओसारपसार बढेको देखाउँछ ।

लागुऔषधसहित पक्राउ परेकाहरुको संख्या पनि अघिल्ला वर्षहरुको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा अत्याधिक धेरै छ । भारतबाट नेपालतिर लागुऔषधको ओसारपसार हुने गरेको छ । भारतसँगको खुला सीमा कानुनद्धारा बर्जित लागुऔषध नियन्त्रणका लागि चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा सशस्त्र प्रहरीले प्रदेश १ मा ४ सय २४ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरेको छ । सशस्त्रका अनुसार गाँजा ४ सय ११ किलोग्राम, नाइट्रोसन २ हजार ८ सय २७ ट्याब्लेट, हाइड्रोक्लोराइड २ हजार १९ र ट्रामाडोल २ हजार ८ सय ट्याक्लेट एवं लुपिजेसिक २ सय ३५ एम्पुल तथा डाइलेक्स डीसी ८ सय ७४ बोतल बरामद भएको छ ।

त्यसबाहेक स्पास्मोप्रोक्सिभन, डाइजापाम, एभिल, कोरेक्स, क्यापिजेसिक, फेनारगन, चरेससमेतका लागुऔषध पनि सशस्त्रले बरामद गरेको छ । गत आवमा बरामद भएको लागुऔषधको परिणाम अघिल्लो वर्षको भन्दा धेरै हो । आर्थिक वर्ष २०७६/०७७ मा २ सय ३० किलो गाँजा, नाइट्रोसन १ हजार ५ सय ६१ ट्याब्लेट र लुपिजेसिक २ सय १५, डाइजापाम २ सय १६ एवं एभिल ६२ एम्पुल बरामद भएको थियो । डाइलेक्स डीसी ५ सय ४४ र कोरेक्स ७ बोतल बरामद गरेको थियो ।

सशस्त्रले आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषधको ओसारपसार एवं खरिद बिक्रीमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या अत्याधिक धेरै हो । आघिल्लो आव २०७६/०७७ मा लागुऔषधसहित ७१ जना मात्रै पक्राउ परेका थिए । आव २०७५÷०७६ मा लागुऔषध ओसारपसार गर्ने ४७ जना पक्राउ परे । सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्रले लागुऔषधसहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने गरेको छ ।

बरामदको पछिल्लो परिणाम र पक्राउ परेका ओसारपसार एवं कारोबारमा संलग्नको संख्याले पनि लागुऔषधको धन्दा मौलाएको प्रष्ट हुने सशस्त्रका अधिकारी बताउँछन् । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले लागुऔषधको अवैध धन्दा नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको जानकारी दिए । ‘सशस्त्रको सक्रियतासँगै लागुऔषध बरामद र ओसारपसार एवं कारोबारमा संलग्न पक्राउ पर्ने क्रम बढेको छ,’ उनले भने, ‘नेपाल–भारत खुला सीमालाई मध्यनजर गर्दै नियन्त्रणका लागि सबै पक्षको साथ लिएर विशेष अभियान सञ्चालन गरिएको छ ।’

दाहालका अनुसार पछिल्लो समय झापाबाट ब्राउन सुगर (खैरो हेरोइन) धेरै बरामद भएको छ । भारतसँग सीमा जोडिएका मोरङ र सुनसरीबाट ‘केमीकल ड्रग्स’का रूपमा प्रयोग हुने लागुऔषधको धन्दा धेरै हुने गरेको जानकारी उनले दिए । ‘सबै पक्षको साथ र सहयोगबिना लागुऔषधको धन्दा नियन्त्रण सम्भव हुँदैन,’ डीआईजी दाहालले भने, ‘विशेष गरेर पछिल्लो समय युवापुस्ता यसको दलदलमा धेरै फसिरहेका कारण अभिभावकले पनि आफ्ना सन्तानमाथि निगरानी बढाउनुपर्ने बेला भएको छ ।’

लागुऔषधका कारण अपराध पनि बढ्दै गएको उनको भनाइ छ । लागुऔषधको कुलततर्फ युवापुस्ता बढी आकर्षित हुँदा भविष्य नै अन्धारतिर धकेलिने अवस्था बनेको भन्दै डीआईजी दाहालले चिन्ता व्यक्त गरेका छन् । ‘लागुऔषधको लतले धनसम्पत्ति र व्यक्तिगत स्वास्थ्य स्वाहा बनाइरहेको छ । समाजमा अपराध पनि बढायो,’ उनी भन्छन्, ‘नियन्त्रणमा सबै पक्ष एकजुट हुन आवश्यक छ । नत्र भोलिका दिनमा परिस्थिति निक्कै जटिल बन्नसक्छ ।’

नेपाल प्रहरीका सुनसरी प्रमुख एसपी सञ्जयसिंह थापाले पछिल्लो समय लागुऔषधका सेवनकर्ता बढिरहेको बताए । ‘अवैध ओसारपसार र कारोबार गर्नेको सञ्जाल पनि बढ्दो छ,’ उनले भने, ‘नियन्त्रणका लागि विशेष कार्ययोजनासहित अगाडि बढ्नुको विकल्प छैन ।’ लागुऔषधका दुव्र्यसनीलाई कुलतबाट मुक्त गराउन र उपचारका लागि राख्नका लागि थापाकै पहलमा धरानको पानबारीमा आसरा सुधारगृह निर्माण गरेर सञ्चालनमा ल्याइएको छ । डीएसपी हुँदा इलाका प्रहरी कार्यालय धरानमा इन्चार्जको जिम्मेवारीमा रहेका बेला २०७० सालमा थापाले पहिलो पटक सुधारगृह निर्माणको पहल थालेका थिए ।

नेपाल प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा जनस्तरको सहयोगबाट यसको निर्माण गरेको हो । आसरा सुधारगृहको व्यवस्थापकीय पक्ष भने नेपाल प्रहरीले नै हेरिरहेको छ ।

कमेन्टहरु