Opens in a new tab

प्रबास

क्युबामा गम्भीर मानवीय सङ्कट : राहतका लागि चीनले पठायो ६० हजार टन चामल

एजेन्सी
२०८३ जेष्ठ ११ | मध्यान्ह ०२:०२ बजे

हभाना । चीनले गम्भीर मानवीय सङ्कट भोगिरहेको क्युबालाई चामल पठाएको छ। वर्तमान सङ्कटबाट राहत दिनका लागि चीनले कुल ६० हजार टन चामल क्युबा पठाउने भएको हो। शनिबार पहिलो चरणमा १५ हजार टन चामल हभाना बन्दरगाह पुगेको थियो। आइतबार सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै क्युबाका राष्ट्रपति मिगुएल डियाज–कनेलले चामल सहायताप्रति चीनलाई आभार व्यक्त गरेका छन्।

उनले चीनप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै क्युबामाथिको दबाब अभियानको विरोध गर्ने युरोपेली संसद्का सदस्यहरूलाई पनि धन्यवाद दिएका छन्। यस वर्ष जनवरीदेखि अमेरिकाले क्युबामाथि थप कडा प्रतिबन्ध लगाएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिकाले क्युबाविरुद्ध कठोर नीति अपनाएको हो। डियाज–कानेलले अमेरिकी कदमलाई सामूहिक सजायको संज्ञा दिँदै क्युबाली जनतामाथि नरसंहारसरहको अवस्था सिर्जना गरिएको बताए।

अमेरिकाले ल्याटिन अमेरिकामा चीनको बढ्दो प्रभाव रोक्न खोजिरहेका बेला सहयोगका लागि चीनमाथि क्युबाको निर्भरता बढेको छ। चीनले यसअघि क्युबाको पुरानो ऊर्जा संरचना सुधार गर्न सौर्य प्यानल पनि उपलब्ध गराएको थियो। रिपोर्टअनुसार अमेरिकाले जनवरीदेखि क्युबातर्फ तेल आपूर्ति लगभग रोकिदिएको छ। यसैक्रममा तत्कालीन राष्ट्रपति निकोलस मदुरोविरुद्ध अमेरिकी कारबाहीपछि भेनेजुएलाबाट क्युबातर्फ तेल तथा आर्थिक सहायता पठाउन रोक लगाइएको थियो।

त्यसपछि अमेरिकाले क्युबालाई असामान्य तथा असाधारण खतरा घोषणा गर्दै उसलाई तेल आपूर्ति गर्ने देशहरूलाई पनि आर्थिक कारबाहीको चेतावनी दिएको थियो। क्युबाका ऊर्जामन्त्री भिसेन्टे डे ला ओ लेभीले यस महिनाको सुरुवातमै देशको तेल भण्डार सकिएको बताएका थिए।

कमेन्टहरु