माधव नेपालसहित नेकपा (एकीकृत समाजवादी)का नेता चन्द्रागिरीमा


काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का संयोजक माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरु बैठकको बहानामा चन्द्रागिरी रिसोर्ट पुगेका छन् । ३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का नेताहरुलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएका बेला सो पार्टीका नेताहरु दायाँबायाँ नहोउन् भनेर चन्द्रागिरी लगिएको हो ।
बुधबार २ बजेभित्र सनाखत गरेर हाम्रो पार्टीले आधिकारिकता पाउँदैछ । त्यसका लागि सिनियर नेताहरुले केही डकुमेन्ट बनाउनुभएको छ । त्यसमा व्यापक छलफल गर्नुपर्ने भएर आज बाहिरबाट पनि केही साथीहरु आइपुग्नु भएकाले ती डकुमेन्टहरुमाथि आवासीय भेला गरेर छलफल गर्ने योजना बनाएर चन्द्रागिरी आएका हौ’ झाँक्रीले चन्द्रागिरी भेलाबारे भनिन्, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठनमा किन लाग्यौं ? भन्ने राजनीतिक प्रतिवेदनमा छलफल हुन्छ ।’
उनले चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । ‘पार्टीको घोषणापत्र, अन्तरिम विधान लगायतका दस्तावेज अध्ययनका लागि बाँडिएको छ । यसलाई अनुमोदन गर्ने कार्यक्रम छ, झाँक्रीले भनिन्, ‘सम्भवत मंगलबार बेलुका फर्कन्छौ, नत्र बुधबार बिहानमात्रै पनि हुनसक्छ ।






















