देश

आईपीएलमा नयाँ रेकर्ड : दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबले जित्यो

kushal
२०७७ कार्तिक ३ | बिहान ०८:०७ बजे

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीचको खेल निकै रोमान्चक रह्यो । गएरातिको खेल दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ ।

आइतबार राति दुबईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रन मद्दतमा, ६ विकेटकै क्षतिमा १७६ रन बनायो । खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो ।

जिततर्फ अघि बढेको पन्जाबको टिमलाई अन्तिम तीन ओभरमा २७ रन चाहिएको थियो । मुम्बईका कप्तान रोहित शर्माले १८ औं ओभरमा जसप्रित बुमराहलाई बलिङ गर्न दिए । उनले ओभरको तेस्रो बलमा केएल राहुललाई बोल्ड गरे । राहुल ७७ रनमा आउट भए । उनले ५१ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए । किफायती बलिङ गरेका बुमराहले १८ औं ओभरमा जम्मा पाँच रन दिए ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ९ रन आवश्यक थियो । बलिङमा ट्रेन्ट बोल्ट थिए । अन्तिम बलमा २ रन चाहिएको बेला क्रिस जोर्डन रन आउट भए । र, पन्जाबको स्कोर मुम्बइसँग बराबर १७६ नै रहेपछि म्याच टाई भयो । मुम्बईका लागि जसप्रित बुमराहले २४ रन खर्चिएर तीन विकेट लिए ।

कमेन्टहरु