अपराध

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जना पक्राउ

नवलपुर टुडे
२०८२ चैत्र ३० | मध्यान्ह ०६:१२ बजे

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ३ दिनमै १० जना लागूऔषध कारोबारी पक्राउ परेका छन्। चैत २७ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको अपरेशनमा खैरो हेरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार विभिन्न चार वटा अपरेशनमार्फत कुल ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ।

अप्रेशन नं. १
३१ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका २४ वर्षीय सुरज दाहाल, रामेछापका २६ वर्षीय ईश्वर खत्री र काठमाडौंका ४५ वर्षीय अलविन प्रधान रहेका छन्।

अप्रेशन नं. २
९८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाका ३६ वर्षीय सुकमान तामाङ, काभ्रेपलाञ्चोकका २९ वर्षीय पवन लामा, कास्कीका ४८ वर्षीय रोहित बहादुर राना र पर्साका ३५ वर्षीय विशाल विक रहेका छन्।

अप्रेशन नं. ३
१० ग्राम खैरो हेरोइन र ५२ ग्राम अफिमसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरका ३७ वर्षीय चेत बहादुर राउत र गोरखाका २८ वर्षीय अजय परियार रहेका छन्।

अप्रेशन नं. ४
८४ ग्राम खैरो हेरोइनसहित रौतहटका ४३ वर्षीय सुवोध कुमार सिंह पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सुकमान तामाङ, पवन लामा, चेत बहादुर राउत, सुवोध कुमार सिंह र अजय परियार यसअघि पनि लागूऔषध मुद्दामा कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। पुनः लागूऔषध कारोबारमा संलग्न रहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेका सबैमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु