समाज

‘बर्दिवास मेडिकल कलेज निर्माण हुने आशा जाग्यो’

रासस
२०८२ चैत्र ३० | मध्यान्ह ०६:१२ बजे

महोत्तरी । लामो समयदेखि रोकिएको जग्गा प्राप्तिको विषयले गति लिएपछि बर्दिवास मेडिकल कलेज निर्माणले गति लिने आशा जागेको छ ।कलेजका लागि प्रस्तावित बर्दिवास–४ को माइस्थानको वन क्षेत्रका रुख कटानको अनुमतिपूर्व सट्टा स्वरुप वृक्षरोपण गरिएको छ । हालै सङ्घीय सरकारको वन तथा भू–संरक्षण विभागका उच्च अधिकारीले वृक्षरोपण गरिएको त्यस क्षेत्रका बिरुवाको स्थलगत अवलोकन गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने आशा जागेको हो।

“कलेज निर्माणका लागि जग्गा प्राप्तिको अल्झिदै आएको छ । नयाँ वृक्षरोपण गरिएकाबारे अनुगमन नहुँदा यो विषय अल्झिदै आएको स्थानीय सरोकार भएकाहरूको भनाइ छ”, कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका निर्देशक निर्मल घिमिरेले भने, “भर्खरै केन्द्रीय प्रतिनिधिबाट वृक्षरोपण क्षेत्रको स्थलगत अनुगमन सम्पन्न भएको छ । अब जग्गा प्राप्ति र प्रस्तावित स्थलको रुख कटान अनुमतिको प्रक्रिया अघि बढेको छ ।”

यही चैतको १३ गते सरकारले कार्यभार सम्हालेसँगै ‘सुशासन मार्गचित्र–२०८२’ कार्यान्वयन प्रक्रिया अघि बढाएपछि बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालय खारेज गरिने कुराले यहाँ निराशा छाएको थियो । लगत्तै महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले शिक्षा मन्त्रीसँग भेटेर पहलकदमी लिएपछि विभागको उच्चस्तरीय टोली वृक्षरोपण क्षेत्रको अनुगमनमा आएको जनाइएको छ ।

यसअघि वि.सं. २०७४/७५ को वार्षिक बजेटमा पहिलो पटक यस मेडिकल कलेजको पूर्वाधार निर्माणको विषयले प्रवेश पाएको थियो । त्यसपछि विसं २०७५ वैशाख १३ गते तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले यहाँ कलेजको पूर्वाधार निर्माण विकास आयोजना कार्यालय शुभारम्भ गरेका थिए।

त्यसयता प्रस्तावित बर्दिवास–४ माइस्थानस्थित ५४ हेक्टर वनक्षेत्रको जग्गा उपयुक्त नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि आयोजनाका काम लामो समयसम्म रोकिएको थियो । पछि विसं २०८० जेठ २९ गते सर्वोच्च अदालतले कलेज निर्माणका लागि प्रस्तावित स्थलमा काटिने एक हजार ९६७ रुखको १० गुणा बढी अर्थात् १९ हजार ६७० नयाँ बिरुवा रोपेको प्रमाणित भएपछि आयोजनाको काम अघि बढ्न सक्ने आदेश गरेको थियो।

आदेशलगत्तै वि.सं. २०८० को असारमै बर्दिवास–५ को टुटेश्वरस्थित माण्डवीगङ्गा (मडहा) र सोनामती (सोनी) नदी किनारमा २३ हजार बिरुवा रोपिएको थियो । उक्त क्षेत्र चारैतिर काँडेतार घेराबेरा गरेर सुरक्षित गरिएको छ।

विभागका उपमहानिर्देशक उद्धव घिमिरे र वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि खिलानाथ दाहाललगायतको टोलीले स्थलगत अनुगमन गरेको प्रतिवेदन दिएसँगै यहाँ रुख कटान र निर्माण कार्य थालनीको अनुमति प्राप्तिको प्रक्रिया अघि बढेको आयोजना कार्यालयका निर्देशक घिमिरेले बताए।

“स्थालगत अध्ययन गरिएको प्रतिवेदन विभागका महानिर्देशकसमक्ष पुगेको छ, अब त्यो सदर भएपछि कलेज निर्माणस्थलको मूल्याङ्कन प्रक्रिया  अगाडि बढ्छ”, उनले भने, “जग्गा मूल्याङ्कन हुने वित्तिक्कै कलेजले सो वापतको रकम सरकारी खातामा दाखिला गरेपछि प्रस्तावित स्थलको रुख कटान र निर्माण कार्य सँगसँगै बढाउन सकिन्छ ।”

यो खबरसँगै कलेज निर्माणको कामले गति लिने भन्दै स्थानीय उत्साहित भएका छन् । बर्दिवास–१ निवासी महोत्तरी क्षेत्र नं १ (क) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य शारदा थापा वर्षौंदेखिको सपना पूरा गर्न कलेज निर्माण प्रक्रिया चाँडै सुरू हुने विश्वास जागेको बताउँछन् । “रुख कटान नहुँदा थप काम अगाडि बढ्न सकेको थिएन । अब भने यससँग जोडिएका प्रारम्भिक काम सुरु भएका छन् । यसबाट सबै उत्साहित छौँ”, उनले भने।

यस आयोजनाअन्र्तगत कलेजका छ सय र चार सय शय्याका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । दुवै भवनमा गरी एक हजार शय्याको अस्पतालबाहेक मेडिकल कलेज भवन, प्रशासनिक कक्ष, प्राध्यापक तथा कर्मचारी आवास, छात्रावास र कुरुवा घरलगायत भौतिक संरचना निर्माण गरिने छन्।

बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतो कलेज निर्माणले स्वास्थ्य क्षेत्रमा उल्लेख्य टेवा पुग्नुका साथै नगर क्षेत्रको सन्तुलित विकास र प्रगतिमा योगदान पुग्ने बताउँछन् । 

कमेन्टहरु