बिश्व

स्ट्रेट अफ होर्मुज खुलाउन वार्ता गदै फ्रान्स–बेलायत

एजेन्सी
२०८२ चैत्र ३० | मध्यान्ह ०६:१२ बजे

पेरिस । फ्रान्स र बेलायतले स्ट्रेट अफ होर्मुजमा जहाजको पुनः आवागमन सहज बनाउन संयुक्त वार्ता आयोजना गर्ने भएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै समुद्री आवागमनको स्वतन्त्रता पुनःस्थापना गर्ने उद्देश्यले बहुराष्ट्रिय पहल गरिने बताएका छन् । 

उनका अनुसार फ्रान्स र बेलायतले अन्य इच्छुक देशहरूसँग मिलेर शान्तिपूर्ण बहुराष्ट्रिय मिसन गठनबारे सम्मेलन आयोजना गर्नेछन्। उनले यसलाई पूर्ण रूपमा रक्षात्मक अभियान भएको स्पष्ट पारेका छन् ।
म्याक्रोंले यो मिसन युद्धरत पक्षहरूबाट अलग रहने र परिस्थिति अनुकूल हुनेबित्तिकै कार्यान्वयन गरिने बताएका छन् । यसैबीच सीएनएनसँग कुरा गर्दै बेलायत सरकारका एक प्रवक्ताले लन्डनले फ्रान्ससहित अन्य देशहरूसँग मिलेर व्यापक गठबन्धन बनाउन प्रयास गरिरहेको बताएका छन् । 

उनका अनुसार स्ट्रेट अफ होर्मुजजस्तो महत्वपूर्ण जलमार्गमा जहाज आवागमन अवरोध हुन नदिइने र यसमा कुनै शुल्क लगाइनु नहुनेमा जोड दिइएको छ । 

कमेन्टहरु