गृहमन्त्री गुरुङलाई गरिबको अपमान नगर्न रक्षा बमको चेतावनी


काठमाडौँ । जेन–जी अगुवा रक्षा बमले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै गरिब र संघर्षशील नागरिकको अपमान नगर्न चेतावनी दिएकी छन्। रक्षाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आर्थिक हैसियतका आधारमा कसैको जीवनलाई ‘गलत’ ठान्ने प्रवृत्ति पदीय मर्यादाविपरीत भएको तर्क गरेकी छन्।
मन्त्रीहरूको सम्पत्तिबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि मन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तिमी जन्मिदै गरीब जन्मिनु त्यो तिम्रो गल्ती हैन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनु अघिबीना भ्रष्टाचार कमाउनु पाप होइन। सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो। चेतनाभया!’
गृहमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै रक्षाले भनेकी छन्, ‘जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस्।’























