अमेरिका–इरान वार्ता असफल भएपछि एसियाली बजारमा गिरावट


टोकियो । सोमबार एसियाली सेयर बजार घटेका छन् ।अमेरिका र इरानबिचको शान्ति वार्ता निष्कर्षमा नपुगेपछि लगानीकर्ताहरूमा चिन्ता बढ्दा बजारमा कमी देखिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा आफ्नै नाकाबन्दी सुरु गर्ने चेतावनी दिएपछि बजारमा थप दबाब परेको छ । यो जलमार्गमा हाल इरानी सैन्य नियन्त्रण जारी रहेकाले विश्व आपूर्ति शृंखलामा अनिश्चितता बढेको छ ।
हङकङमा प्रमुख सेयर परिसूचक हाङशेङ १ दशमलव शून्य ३ प्रतिशतले घटेर २५ हजार ८५२ दशमलव ५ अंकमा आएको छ । चीनमा शाङ्घाई कम्पोजिट शून्य दशमलव शून्य ४ प्रतिशतले बढेर ३ हजार ९८७ दशमलव ७९ अंकमा आएको थियो । जापानमा निक्केई २२५ शून्य दशमलव ७५ प्रतिशतले घट्दा दक्षिण कोरियामा कोस्पी १ दशमलव २ प्रतिशतल ओरालो लागेको थियो ।
यसैबिच तेलको मूल्य भने तीव्र रूपमा बढिरहेको छ । स्ट्रेट अफ होर्मुजबाट विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति हुने भएकाले त्यहाँको अवरोधले बजारमा असर पारेको हो । अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) तेल ८ दशमलव ६ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.८९ सेन्टमा पुगेको छ भने ब्रेन्ट क्रुड ७ दशमलव ३ प्रतिशतले बढेर १०२ डलर १५ सेन्ट पुगेको छ ।
गत हप्ता घोषणा गरिएको युद्धविरामले आपूर्ति सामान्य हुने आशा जगाएको थियो । तर पाकिस्तानमा भएको पछिल्लो वार्ता निष्कर्षविहीन भएपछि अनिश्चितता कायम छ । ट्रम्पले भने युद्धविराम कायम रहेको दाबी गरेका छन् । अर्थशास्त्रीहरूका अनुसास्टेट अफ होर्मुज खुला भए पनि ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य हुन महिनौँ लाग्न सक्छ । यसको प्रभाव एसिया मात्र होइन, अमेरिकाका कृषि क्षेत्रसम्म देखिन थालेको छ ।
बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैंक (एडीबी)ले पनि यस संकटका कारण एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर २०२६ र २०२७ मा ५ दशमलव १ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।
मुद्रास्फीति ३ दशमलव ६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ । एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भनेका छन्, ‘मध्यपूर्वमा दीर्घकालीन द्वन्द्व क्षेत्रीय अर्थतन्त्रका लागि सबैभन्दा ठुलो जोखिम हो, जसले ऊर्जा र खाद्य मूल्य उच्च बनाइराख्न सक्छ र वित्तीय अवस्था कडा पार्न सक्छ ।’






















