डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ : लोपोन्मुख परम्परा जोगाउने प्रयास


डडेल्धुरा । डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ।विसं २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण सुरु गरेको हो।
पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुने परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन्। बजार विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले ती सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको कार्यालय प्रमुख पुष्करबहादुर देउवाले बताए।
उनका अनुसार सङ्ग्रहालय स्थापना गर्नुको मुख्य उद्देश्य पुर्खाले प्रयोग गरेका सामग्री सुरक्षित राख्दै भावी पुस्तालाई मौलिक पहिचानसँग परिचित गराउनु हो। पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको उनले बताए।
सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्री राखिएका छन्। कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणदेखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्री समेटिएका छन्। यी सामग्रीले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिन्छन्।
त्यसैगरी गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई प्रतिबिम्बित गर्ने अमरगढी नगरपालिका–५ का कामदेव ओझाले बताए।
विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्री पनि सङ्ग्रहालयमा राखिएका छन्। यी सामग्रीले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उनले उल्लेख गरे।
सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुआती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए। त्यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको र पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको उनले जानकारी दिए।
सङ्ग्रहालयका लागि सामग्री सङ्कलन कार्य अझै जारी छ। साहीका अनुसार गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्री दाताको नामसहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको छ।
यद्यपि सामग्री सङ्कलनका क्रममा चुनौती पनि देखिएका छन्। देउवाका अनुसार पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्री तीव्र रूपमा हराउँदै गएका छन्। यसले सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन बनाएको उनले बताए।
आगामी दिनमा थप सामग्री सङ्कलन गर्दै सङ्ग्रहालयलाई विस्तार गर्ने योजना पुस्तकालयले बनाएको छ।






















