समाचार

रास्वपा केन्द्रिय सदस्य साहको पहलमा नयाँ विद्युत ट्रान्सफरमर जडान

उमेश दुबे
२०८२ चैत्र २९ | मध्यान्ह ०७:१२ बजे

बारा, चैत्र २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. सुशील साहको पहलमा बारा जिल्लाका कृषकहरूको समस्यालाई मध्यनजर गर्दै नयाँ विद्युत ट्रान्सफरमर वितरण गरिएको छ । लामो समयदेखि बिग्रिएको र कामै नलाग्ने ट्रान्सफरमरका कारण सिँचाइ लगायत दैनिक कृषि कार्य प्रभावित हुँदै आएको थियो । नेपाल विद्युत प्राधिकरण शाखा कलैयासँगको सहकार्यमा पुरानो ट्रान्सफरमर विस्थापित गरी नयाँ ट्रान्सफरमर जडान गरिएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १, २ र ४ को सीमाक्षेत्रमा नयाँ ट्रान्सफरमर जडान भएसँगै स्थानीय कृषकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । केन्द्रीय सदस्य डा. सुशील साहले कृषकहरूको समस्या समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै आवश्यक पूर्वाधार विकासमा निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्युत आपूर्ति सहज भएपछि सिँचाइ प्रणालीमा सुधार भई कृषि उत्पादनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय कृषकहरूले लामो समयदेखिको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले अब समयमै सिँचाइ गर्न सकिने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन् । यस कदमलाई स्थानीय स्तरमा प्रभावकारी पहलका रूपमा हेरिएको छ ।

कमेन्टहरु