बिश्व

जिमेलको नयाँ सुरक्षा फिचर

एजेन्सी
२०८२ चैत्र २९ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ । गुगलले आफ्नो इमेल प्लेटफर्म जिमेलका लागि नयाँ सुरक्षा अपडेट जारी गरेको छ। अब जिमेलको एन्ड-टु-एन्ड इन्क्रिप्सन (E2EE) फिचर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध हुने भएको छ। यो अपडेटपछि प्रयोगकर्ताहरूले सिधै आफ्नो मोबाइल एपबाटै इन्क्रिप्टेड इमेल पठाउन, पढ्न र व्यवस्थापन गर्न सक्नेछन्। यसअघि यस्तो सुविधाका लागि डेस्कटप वा अन्य थर्ड-पार्टी टुल्सको प्रयोग गर्नुपर्ने बाध्यता थियो।

  • कसरी काम गर्छ यो फिचर?

जिमेलको यो नयाँ फिचर क्लाइन्ट-साइड इन्क्रिप्सन (सीएसई) मा आधारित छ। यसको अर्थ इमेल पठाउनुअघि नै प्रयोगकर्ताको डिभाइसमा यो इन्क्रिप्ट हुन्छ। इमेल पठाउँदा प्रयोगकर्ताले लक आइकनमा ट्याप गरी ‘एडिसनल इन्क्रिप्सन’ विकल्प छनोट गर्नुपर्ने हुन्छ। यसो गर्दा सन्देश पूर्ण रूपमा सुरक्षित भएर जान्छ।

यदि इमेल प्राप्त गर्ने व्यक्तिले पनि जिमेल प्रयोग गर्छ भने उसले यो इमेल सामान्य सन्देश जस्तै देख्नेछ। तर जिमेल प्रयोग नगर्नेहरूले भने वेब ब्राउजरमार्फत सुरक्षित रूपमा यसलाई एक्सेस गर्न र रिप्लाई दिन सक्नेछन्।

  • को-को हुन् लक्षित प्रयोगकर्ता?

यो फिचर हालका लागि गुगल वर्कस्पेस इन्टरप्राइज प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ। सम्बन्धित संस्थाको एडमिनले एडमिन कन्सोलबाट यसलाई एक्टिभेट गर्नुपर्ने हुन्छ। यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा सपोर्ट हुने गरी र्‍यापिड र सेड्युल्ड रिलिज दुवैमा रोलआउट सुरु भइसकेको छ।

  • प्रयोगकर्ता र व्यवसायका लागि फाइदा

यो अपडेटपछि संवेदनशील इमेलहरू मोबाइलबाटै सुरक्षित रूपमा पठाउन सकिने भएकाले अब डेस्कटपमा निर्भर रहनुपर्ने अवस्था अन्त्य भएको छ। डाटा पूर्ण रूपमा इन्क्रिप्टेड रहने र इन्क्रिप्सनका ‘की’ हरू संस्थाकै नियन्त्रणमा रहने भएकाले यसले गोपनीयतालाई उच्च प्राथमिकता दिएको छ। 

विशेषगरी संवेदनशील डाटामा काम गर्ने कम्पनीहरूका लागि यो फिचर निकै उपयोगी हुनेछ। यसले कम्पनीहरूलाई डाटा सुरक्षा, गोपनीयता र कानुनी पालना सुनिश्चित गर्न ठुलो मद्दत पुर्‍याउनेछ।

कमेन्टहरु