हंगेरीमा अन्त्य होला १६ वर्षे ओर्बान शासन ?


बुढापेष्ट । हंगेरीमा लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बानको १६ वर्षे शासन अन्त्य हुने वा निरन्तरता पाउने भन्ने निर्णयका लागि आइतबार मतदान भइरहेको छ ।
निर्वाचनअघिको अन्तिम सभामा ओर्बानले ऐतिहासिक जित हासिल गर्ने दाबी गर्दै विपक्षीले सत्ता कब्जा गर्न जे पनि गर्न सक्ने आरोप लगाएका थिए । जवाफमा माज्यारले मतदातालाई दबाब र धम्की मा नपर्न आग्रह गरेका छन् । ओर्बानले विगत १६ वर्षमा लगातार चार पटक चुनाव जितेका छन्, तर यसपटक पाँचौँ जित हासिल गर्न कठिन हुने संकेत देखिएको छ ।
युरोपेली संसदले ओर्बान शासनलाई निर्वाचनात्मक अधिनायकवादको मिश्रित रूप भन्दै आलोचना गर्दै आएको छ । माज्यार र उनको टिस्जा पार्टीले शासन परिवर्तन, युरोपेली संघ सँगको सम्बन्ध सुधार र रूससँगको निकटता अन्त्य गर्ने वाचा गरेका छन् । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओर्बानलाई साँचो मित्र र विजेता भन्दै समर्थन गरेका छन् र मतदातालाई उनलाई मत दिन आह्वान पनि गरेका छन् ।
ओर्बानले आफ्नो अभियानमा ब्रसेल्स र युक्रेन सम्बन्धी मुद्दालाई प्राथमिकता दिएका छन् । उनले ‘हामी आफ्ना सन्तान, हतियार वा पैसा दिन्नौँ’ भन्ने सन्देश दोहोर्याएका छन् । हाल हंगेरीको अर्थतन्त्र कमजोर अवस्थामा रहेको छ भने विभिन्न काण्डहरूले पनि ओर्बानको सरकारलाई दबाबमा पारेका छन् ।
विदेशमन्त्री पेटर सिज्जार्ताेले युरोपेली संघ शिखर सम्मेलन अघि–पछि रूससँग सम्पर्क राखेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो । हंगेरी नाटो सदस्य राष्ट्र भए पनि ओर्बानले युक्रेनलाई दिने ९० अर्ब युरो सहायता रोक्दा युरोपेली साझेदारहरू असन्तुष्ट बनेका थिए ।






















