दुबईमा सम्पन्न बुढासुब्बा भेटेरान्स फुटबल प्रतियोगितामा धरान युनाइटेड एफ.सी. विजेता



प्रवास दुबई, यूएई । प्रथम “बुढासुब्बा भेटेरान्स अन्तर–क्लब ७-ए-साइड फुटबल प्रतियोगिता २०२६” मा आयोजक धरान युनाइटेड फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। फाइनल खेलमा धरान युनाइटेड एफ.सी.ले तमु समाज यूएईलाई २–० गोल अन्तरले पराजित गर्दै २५५५ दिरहम नगदसहित ट्रफी जित्न सफल भएको हो।
उपविजेता बनेको तमु समाज यूएईले १५५५ दिरहम नगद, ट्रफी तथा मेडलमा चित्त बुझाएको छ। प्रतियोगितामा विभिन्न क्लबहरूको प्रतिस्पर्धात्मक सहभागिताले खेललाई रोमाञ्चक बनाएको थियो। प्रतियोगितामा ए.डी. फूलबारी एफ.सी.ले “फेयर प्ले अवार्ड” जित्दै अनुशासित खेल प्रदर्शन गरेको मान्यता पाएको छ।

व्यक्तिगत विधातर्फ
व्यक्तिगत उत्कृष्टतर्फका पुरस्कारहरू पनि घोषणा गरिएको थियो। उत्कृष्ट डिफेन्डरको उपाधि तमु समाज यूएईका गोविन्द परियारले जित्दा उत्कृष्ट गोलरक्षक धरान युनाइटेडका किशोर लिम्बु घोषित भए। त्यस्तै उत्कृष्ट म्यानेजरको अवार्ड सुनील थापाले प्राप्त गरे।धरान युनाइटेडकै स्विकार राईले सर्वाधिक गोलकर्ता बन्नुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडी (MVP) बन्न सफल भए।
सेमिफाइनल नतिजा
सेमिफाइनल खेलहरूमा तमु समाज यूएईले ए.डी. फूलबारी एफ.सी.लाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्को खेलमा धरान युनाइटेड एफ.सी.ले ग्रीन सिटी एफ.सी.लाई ३–२ ले (पेनाल्टी सुटआउटमा) हराउँदै फाइनलमा स्थान बनाएको थियो।
आयोजक तथा अतिथिहरू
कार्यक्रम यूएई नेपाली फुटबल संघका उपाध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा यूएई नेपाली फुटबल संघका संस्थापक अध्यक्ष मुक्ति गुरुङ, संरक्षक कूल लेप्चा, एनआरएनए मध्यपूर्वका पूर्व युवा संयोजक निराजन सिलवाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, नेवा पुचः यूएईका सुभाष श्रेष्ठ, तामाङ समाज यूएईका अध्यक्ष सुरेन्द्र तामाङ, तमु समाज यूएईका अध्यक्ष इन्द्र तमु, यूएई नेपाली फुटबल संघका सचिव सरोज उप्रेती, खेल संयोजक विनोद भण्डारी, ए.डी. फूलबारी एफ.सी.का अध्यक्ष मानधोज आले, प्रवक्ता नवराज रानाभाट तथा भिजन फेसिलिटिज म्यानेजमेन्टका देव राईलगायतको सहभागिता रहेको थियो।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।






















