महावाणिज्य दूतावास दुबईद्वारा नेपाली संघ–संस्थासँग अन्तरक्रिया


प्रबास दुबई, १० अप्रिल २०२६ । नेपाली महावाणिज्य दूतावास, दुबईको आयोजनामा तथा नेपाली समाज यूएईको समन्वयमा नेपाली समाज यूएई र आबद्ध विभिन्न संघ–संस्थाहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यूएईस्थित नेपाली समुदायबीच समन्वय, सहकार्य र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा यूएईका विभिन्न प्रादेशिक, जिल्ला, जातीय, धार्मिक तथा नगरस्तरीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए। सहभागीहरूले आफ्ना संस्थागत गतिविधि, चुनौतीहरू तथा समुदायका साझा सरोकारका विषयहरू प्रस्तुत गर्दै आपसी सहकार्यलाई अझ मजबुत बनाउनेतर्फ जोड दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा महावाणिज्य दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई प्रदान गर्दै आएका विभिन्न सेवाहरूको विस्तृत प्रस्तुति गरेको थियो। दूतावासले कन्सुलर सेवा, श्रमसम्बन्धी समस्या समाधान, राहदानी नवीकरण तथा वितरण, आपतकालीन सहायता, कानुनी सहजीकरणलगायतका सेवाहरूको वर्तमान अवस्था, प्रक्रिया र सुधारका प्रयासहरूबारे जानकारी गराएको थियो।
त्यसैगरी, सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र सेवाग्राहीमैत्री बनाउन सहभागीहरूबाट सुझाव तथा सल्लाहहरू संकलन गरिएको थियो। सहभागीहरूले विशेषगरी सेवा पहुँचलाई डिजिटल माध्यममार्फत विस्तार गर्ने, सूचनाको पारदर्शिता बढाउने, र समस्याग्रस्त श्रमिकहरूको छिटो उद्धार तथा सहजीकरणमा थप सक्रियता आवश्यक रहेको सुझाव दिएका थिए।कार्यक्रममा सहभागीहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी समझदारी बढाउने, नेटवर्क विस्तार गर्ने तथा समग्र समुदायको हितमा साझा पहलहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा आयोजक पक्षले सहभागी सबै संघ–संस्था तथा प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहकार्य र संवादका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो। साथै, यूएईमा रहेका नेपाली नागरिकहरूको हक, हित र सुरक्षाका लागि दूतावास सधैं प्रतिबद्ध रहने उल्लेख गरिएको छ।






















