मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सरकार फेरियो, गुम्बा गाउँको मुहार फेरिएन


बाजुरा, चैत २८ । नेपालको सबैभन्दा दुर्गम बाजुरा जिल्ला त्यसमा पनि भौगोलिक हिसाबले पछाडि परेको हिमाली गाउँपालिका -३ गुम्बा गाउँ मानिन्छ । गाउँपालिका केन्द्रबाट गुम्बा गाउँ जाने दुई दिन पुरा लाग्छ । धुलाचौर बजारबाट गाडी चडेपछी ३ घण्टामा हिमाली गाउँपालिका वडा नं. १ मैतार्ना पुगिन्छ ।
त्यहाँबाट एक डेट दिन लागेपछि मात्र गुम्बा गाउँ पुग्न सकिन्छ । गुम्बा गाउँमा अहिलेसम्म पनि सडक संजाल जोडिएको छैन । सडक संजालबाट बन्चित भएपछि गुम्बा गाउँमा खाद्यान्न सामाग्री खच्चरमा ढुवानी गरेर लिने गर्छन् । धेरै जसो मान्छे चामल, नुनु र तेल लगायत सामानहरु पिठ्युँबोकेर खाने गरेका स्थानीय नरबहादुर गुरुङ बताएका छन ।
पहिला हिड्ने बाटो अप्ठ्यारो अवस्था थियोे त्यहीँ बाटो हिमाली गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष बजेट हालेपछि गोरेटो बाटोहरु सुधार आएको छ । गुम्बा गाउँमा सबैभन्दा आलु उत्पादन धेरै हुन्छ । तर बजारीकरण ठुलो समस्या हुँदा बिक्रीवितरण गर्न सकिरहेका छैनन् । सडक संजाल देखि टाढा हुँदा ढुवानी गरेर बेच्न निकै समस्या परेका छन । उत्पादन गरेको बस्तु आफ्ना आफ्न्तलाई कोसेलीको रूपमा दिने गर्छन् । भने केही आफै खाएर सकिने गरेको छ ।
गाउँ सडक पहुँचमा पुग्यो भने गुम्बा गाउँका स्थानीयलाई मात्र नभई विशेषगरी अपि सैपाल हिमालको ब्यसक्याप मानिने रानिसैन जाने आन्तरिक तथा बाहिरी पर्यटनलाई सजिलोसँग आवतजावत गर्न सजिलो हुने थियो । अहिले रानिसैन पर्यटकीय स्थान पहिला भन्दा दिनप्रतिदिन पर्यटक आउने बढी रहेका छन । गुरुङ अनुसार, “गुम्बा गाउँ सडक पहुँचमा भएको भए स्थानीयलाई मात्र नभएर बाहिरबाट आउने पर्यटनलाई समेत सहज यात्रा हुने देखिन्छ ।”
गुम्बा गाउँका ३५ घरपरिवार टेलीफोन सेवाबाट बन्चित रहेका छन । जिल्लाभर धेरै जसो गाउँ घरमा टेलिफोन टावर सहित फ्रोजी जडान सहित ईन्टरनेट पहुँचमा छन । तर गुम्बा गाउँका मान्छे अहिलेसम्म टेलीफोन गर्न घरको बाहिर मोबाईल झुन्डिएर फोन गर्नुपर्ने बाध्यता छ । गाउँबाट बाहिर कसैलाई फोन सम्पर्क गर्न पनि घरको धुरी तथा अग्ला डाँडामा गएर फोन गर्नुपर्ने स्थिति अहिलेसम्म जस्ताको त्यस्तै छ ।
गाउँमा टेलिफोन टावर निर्माण गरिदिएको भए टेलिफोन गर्न सजिलो हुन्थ्यो । दुनियाँ नेट ईन्टरनेट भरमा भएपनि गुम्बा गाउँ अहिले फोन गर्नका लागि टेलिफोन टावर निर्माण हुन सकिरहेको छैन । गाउँमा टेलिफोन टावरको मुख्य समस्या हुँदा हरेक सूचना आदानप्रदान गर्न गार्हो स्थिति भएको स्थानीय जगत लामाले बताएका छन । टेलिफोन बाट बन्चित भएको कारणले गाउँ बाहिर खबर समय जानकारी हुन सकिरहेको छैन ।
अहिले धेरै जसो घरको अगाडि मोबाईल झुन्डियार टेलिफोनबाट कुराकानी गरिरहेका छन । देश विदेश नयाँ कुराहरु नेट ईन्टरनेटबाट खबर आदानप्रदान हुने जमानामा गाउँ टेलिफोनमा जोडिन गाह्रो परिस्थिति आएको छ । गाउँमा बिजुलि बत्ति नहुदा सोलार टुकी प्रयोग गरेर बस्ने गरेका छन । धेरै पहिलेदेखि विद्युत सेवाबाट टाढा हुँदा गाउँमा अध्यारोमा बस्नुपर्ने बाध्यता भएको गुरुङले बताए ।
हिमाली गाउँपलिका -१,२ र ३ सबै बस्तीमा विद्युतको पहुँच छ । तर गुम्बा गाउँ अहिलेसम्म पनि विद्युत सेवाबाट बन्चित भएको छ । वर्षौदेखि गुम्बा गाउँ बिजुलि नहुदा अध्यारो रात बिताउने पर्ने अवस्था छ । गाउँमा राति उज्यालो अभाव हुँदा मोबाईल लाइट अथवा सोलार टुकी उज्यालोको भरमा बस्नुपर्ने अवस्था छ । गुम्बा गाउँ अहिलेसम्म सडक, संचार र विद्युत सेवा बन्चित हुँदै आएका छन ।
दुर्गम ठाउँका समस्यालाई मध्यनजर गरेर स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार ध्यानाकर्षण रहोस् । अहिले पनि साच्चिकै गुम्बा गाउँको जीवन स्तर माथी उठ्न सकिरहेको छैन । भौगोलिक हिसाबले पिछडिएको ठाउँ गुम्बाको मुहार परिवर्तन गर्न निकै कष्टकर अवस्था छ । यसलाई माथी लैजान सम्बन्धि निकाय सबैको ध्यान रहनुपर्ने स्थानीय गुनासो गरेका छन ।

















