बिश्व

वार्ताअघि अमेरिका–इरान युद्धविराममा दबाब बढ्दै

एजेन्सी
२०८२ चैत्र २७ | मध्यान्ह ०५:१२ बजे

पाकिस्तान । अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविराम प्रक्रिया थप दबाबमा परेको छ । दुवै पक्षबिच पाकिस्तानमा वार्ता हुनुअघि तनाव बढेपछि वार्ता प्रक्रिया दबाबमा परेको हो ।शनिबार दुई पक्षबिच इस्लामवादमा वार्ता हुँदैछ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानले सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानले भने लेबनानमा जारी इजरायली आक्रमणलाई युद्ध विरामको मुख्य विवादको विषय बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानले जलमार्गबाट तेल आपूर्ति सुचारु गर्नेतर्फ अत्यन्त खराब काम गरिरहेको टिप्पणी गरेका छन् । उनले छिट्टै नै तेल आपूर्ति पुनः सुरु हुने दाबी गरे पनि त्यसका लागि के कदम चालिनेछ भन्ने स्पष्ट पारेका छैनन् ।

युद्ध विरामको पहिलो २४ घण्टामा केवल एउटा तेल ट्याङ्कर र पाँच वटा अन्य जहाजले मात्रै उक्त जलमार्ग पार गरेको बताइएको छ । जबकि सामान्य अवस्थामा दैनिक करिब १४० जहाज आवतजावत गर्ने गर्दथे । यसले विश्वको ऊर्जा आपूर्तिमा ठुलो अवरोध सिर्जना गरेको छ ।

यसैबिच इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहका लक्ष्यहरूमा आक्रमण जारी राखेको छ । शुक्रबार बिहान इजरायली सेनाले १० वटा रकेट प्रक्षेपण स्थलमा हमला गरेको जनाएको छ । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

अमेरिका र इजरायलले हालको युद्धविराममा लेबनानलाई समेट्न नसकिने बताएका छन् तर इरान र मध्यस्थकर्ता पाकिस्तानले लेबनान पनि उक्त सहमतिमा समावेश भएको दाबी गरेका छन् । इरानको संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले लेबनान र क्षेत्रीय सहयोगीहरू युद्ध विरामको अभिन्न हिस्सा भएको बताएका छन् ।

शनिबार पाकिस्तानमा हुने अमेरिका–इरान वार्ताले जारी द्वन्द्व समाधान गर्ने प्रयास गर्नेछ । इरानले यसअघि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कायम राख्ने, आणविक समृद्धिको अधिकार स्वीकार गर्ने र प्रतिबन्ध हटाउने माग अघि सारेको छ । यसैबिच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले बिहीबार आक्रमणको बदला लिने चेतावनी दिएका थिए । 

कमेन्टहरु