बिश्व

साउदी अरबको महत्त्वपूर्ण इस्ट–वेस्ट पाइपलाइनमा आक्रमण भएको पुष्टि

एजेन्सी
२०८२ चैत्र २७ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ । आफ्नो प्रमुख तेल तथा ग्यास पूर्वाधारमाथि आक्रमण भएको साउदी अरबले औपचारिक रूपमा पुष्टि गरेको छ । सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार इस्ट–वेस्ट पाइपलाइनसहित विभिन्न ऊर्जा संरचनाहरूलाई निशाना बनाएर गरिएको आक्रमणमा एक साउदी नागरिकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ऊर्जा मन्त्रालयका एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै एसपीएले जनाएअनुसार पछिल्ला आक्रमणहरूले देशको तेल उत्पादन र ढुवानी प्रणालीमा ठुलो क्षति पुर्‍याएको छ । 

प्रारम्भिक विवरण अनुसार दैनिक १० लाख ब्यारेलभन्दा बढी तेल उत्पादन प्रभावित भएको छ । तीमध्ये इस्ट–वेस्ट पाइपलाइनमा भएको क्षतिका कारण मात्रै करिब ७ लाख ब्यारेल प्रतिदिन उत्पादन घटेको छ भने अन्य ऊर्जा संरचनामा भएको आक्रमणका कारण थप ६ लाख ब्यारेल उत्पादनमा कमी आएको छ ।

ऊर्जा विश्लेषकहरूका अनुसार यसले खाडी क्षेत्रमै दैनिक १ करोड २१ लाख ब्यारेलसम्म आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ, जसले विश्व बजारमा तेल आपूर्तिको सन्तुलनमा गम्भीर असर पार्न सक्ने ठानिएको छ। 

यसैबिच सादी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोको प्रमुख प्रशोधन केन्द्र अबकैक प्रशोधन केन्द्रमा ठुलो आगलागी भएको स्याटेलाइट तस्बिरहरूले देखाएका छन् । यूरोपेली स्पेश एजेन्सीद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा बाक्लो कालो धुवाँ आकाशतर्फ उठिरहेको स्पष्ट देखिन्छ । उक्त तस्बिर अप्रिल ८ मा स्थानीय समयअनुसार बिहान खिचिएको हो ।

अबकैक प्रशोधन केन्द्र विश्वकै सबैभन्दा ठुलो कच्चा तेल स्थिरीकरण संयन्त्र मानिन्छ, जसले विश्वको करिब ५ प्रतिशत तेल आपूर्ति सुनिश्चित गर्ने भूमिका खेल्छ । यही केन्द्रबाट इस्ट–वेस्ट पाइपलाइन सुरु हुने भएकाले यहाँ भएको कुनै पनि अवरोधले प्रत्यक्ष रूपमा विश्व ऊर्जा बजारलाई असर गर्छ । 

करिब १ हजार २०० किलोमिटर लामो इस्ट–वेस्ट पाइपलाइन  स्ट्रेट अफ होर्मुजलाई बाइपास गर्ने प्रमुख मार्ग हो । होर्मुजमा हाल जारी तनाव र अवरोधका कारण यो पाइपलाइन झनै महत्त्वपूर्ण बनेको थियो । तर, यसै मार्गमा आक्रमण भएपछि वैकल्पिक आपूर्ति प्रणाली पनि जोखिममा परेको छ । हाल खाडी क्षेत्रका देशहरूले आफ्नो ऊर्जा संरचनामा भएको वास्तविक क्षतिको पूर्ण विवरण सार्वजनिक गरेका छैनन् । यद्यपि, पछिल्ला घटनाक्रमले इरानसँग सम्बन्धित आक्रमणहरूले क्षेत्रीय ऊर्जा सुरक्षामा गम्भीर चुनौती थपेको सङ्केत दिएका छन् ।

यस घटनाले विश्वव्यापी तेल आपूर्ति शृङ्खलामा अभूतपूर्व दबाब सिर्जना गरेको छ । होर्मुजमा पहिले नै देखिएको अवरोध, त्यसमाथि अरू पाइपलाइनमा आक्रमण र प्रमुख प्रशोधन केन्द्रमा आगलागी यी सबै कारणले ऊर्जा बजारमा अस्थिरता बढ्ने सम्भावना विज्ञहरूले औँल्याएका छन्।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको अमेरिका–इरानबिचको अस्थायी युद्ध विरामको प्रभाव पनि यी घटनाले कमजोर बनाएको देखिन्छ । युद्ध विरामका बाबजुद ऊर्जा पूर्वाधारमा भइरहेका आक्रमणहरूले द्वन्द्व अझै नियन्त्रण बाहिर जान सक्ने सङ्केत गरेका छन् । यसबिच साउदी अराम्कोसँग थप विवरणका लागि सम्पर्क गरिए पनि हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन। 

कमेन्टहरु