फतुवा विजयपुरका नेतासँग प्रभु साह: जनताको साथमै रहने प्रतिबद्धता


रौतहट, चैत २७ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको उपस्थितिमा आज कटहरियास्थित तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानको सभा हलमा स्थानीय नेताहरू, युवा तथा समर्थकहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष साहले वर्तमान राजनीतिक अवस्था, जनताले भोगिरहेका दैनिक समस्या तथा देशको समग्र विकासका विषयमा स्पष्ट र खुला धारणा राख्नुभयो। उहाँले जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्नु नै साँचो राजनीति भएको उल्लेख गर्दै आम जनता पार्टी सधैं जनताको आवाज बन्ने प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भए पनि आफू जनताबाट टाढा नभएको र सधैं जनताको बीचमै रहेर काम गरिरहेको बताउनुभयो।
“जित वा हारले मेरो दायित्व कम हुँदैन, म सधैं जनताको सेवामा समर्पित छु,” उहाँले स्पष्ट पार्नुभयो। भेटघाट कार्यक्रममा सहभागीहरूले फतुवा विजयपुर क्षेत्रका विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विविध समस्याहरू राख्दै समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए । स्थानीय बासिन्दाहरूले दीर्घकालीन विकासका लागि स्पष्ट योजना र कार्यान्वयनमुखी कदमको अपेक्षा व्यक्त गरेका थिए। अध्यक्ष साहले उठेका सबै विषयहरूलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथै, उहाँले युवाहरूलाई सकारात्मक सोच, सक्रिय सहभागिता र जिम्मेवारीका साथ समाज परिवर्तनमा अगाडि बढ्न आह्वान गर्नुभयो। उक्त भेटघाट कार्यक्रमले स्थानीय स्तरमा आम जनता पार्टीप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै पार्टी र जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।






















