राममणि बहुमुखी क्याम्पसमा आज रक्तदान कार्यक्रम सम्पन्न


मणिग्राम २६, चैत्र ।रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (बिहीबार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाइले गरेको कार्यक्रम उद्घाटन् गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदान मार्फत् मानव कल्याणको काममा क्याम्पस विगतदेखि नै संलग्न हुँदै आएको बताउनुभयो ।
एकाईका संयोजक विन्दु आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले पाठ्यक्रमसँगै सामाजिक पाटो पनि क्याम्पसका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान प्रति राममणि क्याम्पस परिवारको लगाव उदाहरणीय रहेको बताउनुभयो ।
क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ३५ जनाले रक्तदान गर्नुभएको एकाईका सदस्य नारायण खरालले जानकारी दिनुभयो ।क्याम्पसका सहायक प्राध्यापक कविता पन्थीको सञ्चालनमा आयोजित कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्राविधिकहरूः प्रदिप टण्डन, दीपा पोख्रेल र सीमा दङ्गोरियाले प्राविधिक संयोजन गर्नुभएको थियो ।
सोही अवसरमा पहिलो पटक दान गर्ने रक्तदाताका सचेतना सहितको प्रोत्साहन कार्यक्रम र रक्तदान पश्चात् प्रमाणपत्र समेत वितरण गरिएको एकाईका सदस्य मीना न्यौपानेले जानकारी दिनुभयो ।





















