प्रबास

स्पेनले तेहरानस्थित दूतावास ल्यायो पुनः सञ्चालनमा

एजेन्सी
२०८२ चैत्र २६ | मध्यान्ह ०४:१२ बजे

काठमाडौँ । स्पेनले तेहरानमा रहेको आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याएको छ । अमेरिका–इरानबिचको नाजुक युद्ध विरामबिच “शान्तिको सम्भावना अझै बाँकी रहेको” भन्दै यस्तो निर्णय गरिएको स्पेनका विदेशमन्त्री जोस म्यानुयल अल्बारेसले बिहीबार बताएका हुन् । सङ्घर्ष सुरु भएयता स्पेनले इरानमाथि गरिएको अमेरिकी सैन्य कारबाहीको खुलेर आलोचना गर्दै आएको छ । स्पेनले आफ्नो सैन्य आधारहरू प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थिएन । 

यसलाई अन्य युरोपेली सहयोगी राष्ट्रहरूको तुलनामा कडा धारणा देखाएको मानिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले अमेरिका–इजरायलद्वारा इरानमा गरिएका आक्रमणलाई लापरवाह र गैरकानुनी भन्दै आलोचना गरेका थिए । विश्वका लागि हानिकारक काममा स्पेन संलग्न नहुने उनले स्पष्ट पारेका थिए ।

म्याड्रिडले आफ्नो राजदूतलाई पुनः इरान पठाउने निर्णय गरेपछि भने इजरायलका विदेशमन्त्री गिदोन साउरले कडा प्रतिक्रिया दिएका छन् । उनले स्पेनको कदमलाई आतङ्कवादी शासनसँग हातेमालो गरेको भनेका छन् । यस घटनाले इरान–अमेरिका तनावबिच युरोपेली राष्ट्रहरूबिचको धारणा विभाजनलाई समेत उजागर गरेको छ। 

कमेन्टहरु