एलडिसी ग्राजुएशनपछि निर्यातमा चुनौती र निजी क्षेत्रका मुद्दा पहिलो प्राथमिकतामा राख्छौंः सांसद पराजुली


काठमाडौं, चैत २५। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एलडिसी (अल्पविकसित देश) बाट स्तरोन्नति पश्चात् नेपालको तयारी पोशाक (गार्मेन्ट) निर्यात क्षेत्रमा चुनौती र अवसर दुवै रहेको बताएका छन्।मंगलबार नेपाल तयारी पोशाक उद्योग संघले आयोजना गरेको ‘एलडिसी ग्राजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनमा चुनौती, अवसर तथा अवलम्बन गर्नुपर्ने कार्यहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदीय समिति गठन भएसँगै पहिलो छलफल निजी क्षेत्रका मुद्दामै केन्द्रित हुने जानकारी दिए ।
सांसद पराजुलीले निर्यातसम्बन्धी तथ्यांकको गहन विश्लेषण आवश्यक रहेको उल्लेख गर्दै गत वर्षको कुल निर्यातमा विभिन्न वस्तु, विशेषगरी गार्मेन्ट क्षेत्रको योगदान र एलडिसी स्तरोन्नतिपछि पर्ने सम्भावित नकारात्मक प्रभावबारे अध्ययन गरेर मात्रै प्रभावकारी निर्णय लिन सकिने बताए ।
उनले द्विपक्षीय व्यापार सम्झौताहरू (बाइल्याट्रल नेगोशिएसन एग्रिमेन्ट) मा नेपालले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए ।
‘हाम्रो बस्तु निर्यातमा गर्त वर्ष झण्डै पौने ३ खर्वको निर्यातमा कति तेल, अरु बस्तु, ग्राभेन्टहरु निर्यात भयो र कति एलडिसी ग्राजुएशनपछि नकारात्मक प्रभाव पर्छ । तथ्यगत डाटा विश्लेषण गरेपछि अझ हामीले सहजरुपमा निर्णयहरु गर्न सक्छौँ । बाइल्याट्रल नेगोशिएसन एग्रिमेन्टका पाटाहरुमा हामीले निकै शसक्त भूमिका खेल्नुपर्छ,’ उनले भने । न्यूज बैंक





















