यसरी छाड्नुस् मोबाइलको लत


काठमाडौँ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ । तर यसको अत्यधिक प्रयोग हाम्रा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । सामाजिक सञ्जालमा लामो समयसम्म बस्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर विज्ञहरू भन्छन् । यो व्यवहारलाई नियन्त्रण गर्नु महत्त्वपूर्ण छ ।
- अनलाइन रहनुका कारणहरू
सामाजिक सञ्जालमा जतिबेला पनि आइरहने सूचना (नोटिफिकेसन), लाइक र कमेन्टहरूको चाहनाले मानिसलाई निरन्तर अनलाइन रहन बाध्य पार्छ । यसले निद्राको अभाव, तनाव र डिप्रेसनजस्ता समस्याहरू बढाउँछ । यो समस्या युवा पुस्तामा अझ बढी छ । त्यसैले, डिजिटल समय व्यवस्थापन गर्नु महत्त्वपूर्ण छ । स्वास्थ्य विशेषज्ञहरूले यसका केही प्रभावकारी समाधानको सुझाव दिन्छन् ।
- कसरी बनाउने डिजिटल दूरी ?
सन्तुलित डिजिटल जीवन बिताउनु महत्त्वपूर्ण छ भनेर स्वास्थ्य विशेषज्ञहरू भन्छन् । सूचना पाउन र जोडिरहनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुहोस्, तर यसलाई आफ्नो जीवनको केन्द्र बन्न नदिनुहोस् । सामाजिक सञ्जालले तपाईंको दैनिक दिनचर्या र मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ भन्ने लाग्छ भने तुरुन्तै आफ्नो प्रयोगमा नियन्त्रण गर्नुहोस् र आवश्यक परेमा विशेषज्ञको मद्दत लिनुहोस् ।
१. समयसीमा तय गर्नुहोस्
सामाजिक सञ्जालका लागि दैनिक ३०–४५ मिनेट मात्र छुट्याउनुहोस् ।
२. डिजिटल डिटक्स
हरेक दिन कम्तीमा ४ देखि ५ घण्टा स्क्रिन टाइमबाट बच्नुहोस् । बिहान र राति आफ्नो फोनलाई आफूबाट टाढा राख्नुहोस् ।
३. सूचनाहरू (नोटिफिकेसन) बन्द गर्नुहोस्
आफ्नो फोन निरन्तर जाँच गर्ने बानीबाट बच्न अनावश्यक सूचनाहरू बन्द गर्नुहोस् ।
४. अफलाइन गतिविधिहरूमा ध्यान दिनुहोस्
पुस्तकहरू पढ्न, व्यायाम गर्न, परिवारसँग समय बिताउन र आफ्ना सोखहरू पछ्याउन सुरु गर्नुहोस् ।
५. स्क्रिन टाइम एपहरू प्रयोग गर्नुहोस्
आफ्नो फोनमा उपलब्ध स्क्रिन टाइम ट्र्याकर एपहरू प्रयोग गरेर आफ्नो प्रयोगको निगरानी गर्नुहोस् ।
६. आफ्नो निद्रामा ध्यान दिनुहोस्
सोसल मिडिया बन्द गर्नुहोस् वा सुत्नुभन्दा कम्तीमा १ घण्टाअघि आफ्नो मोबाइल फोन टाढा राख्नुहोस् ।
७. परिवारका साथमा नियम बनाउनुहोस्
घरमा खाना खाने समयमा फोन चलाउन नपाइने नियम बनाउनुहोस् वा परिवारसँग बिताउन समय छुट्याउनुहोस् ।






















